काठमाडौं । सङ्खुवासभामा दुईजना नक्कली प्रहरी पक्राउ परेका छन् ।
जिल्लाको खाँदबारी नगरपालिका ८ मा आफूलाई प्रहरी भन्दै धम्क्याएको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ रहेका छन् । उनीहरूलाई प्रहरीको पोसाकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।
रमेशले आफूलाई नभनी माइत गएको भन्दै श्रीमती प्रमिलालाई अपहरण गर्नका लागि चार जनालाई नक्कली प्रहरी बनाएर परिचालन गरेका र तीमध्ये रमेश र अर्का एक जना पक्राउ परेको प्रहरीको भनाइ छ ।
फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।