काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीको दिन उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने १०८ सवारीसाधनलाई कारबाही गरेको छ।
महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासका अनुसार अहिलेसम्म १०४ दुई पाङ्ग्रे र चार वटा पाङ्ग्रे गाडीलाई कारबाही गरिएको जो। कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाए ।
यद्यपि कुन कारणले कारबाहीमा परेको संख्या बेलुकी मात्रै आउने उनले बताए। होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ। त्यसअनुसार काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ।
उच्छिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।
यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।