Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भैरहवा विमानस्थल: उडानका लागि सम्पर्कमा आए पाँच वायुसेवा कम्पनी

बुटवल । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ ।

विमानस्थलमा  उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन्।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए  ।

व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077