विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशी शक्तिहरू नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको दावी गरेका छन् /
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे।
विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो। यदी माओवादीले चुनाव नजिते नेपालले नजित्ने र माओवादीले हारे देशले हार्ने प्रचण्डको भनाइ थियो।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, प्रचण्डले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन। नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ।’
कार्यक्रममा प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे।