Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ : प्रचण्ड

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै बीचमा चुनावी तालमेल हुने बताएका छन् ।

नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भनेश–‘गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ। सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ। हामी पनि स्थानीय निर्वाचनमा केन्द्रित छौं। हामी पनि निर्वाचनमा जुटेका छौं। दुई महिने अभियानमा छौं। पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे। पार्टीलाई एकताबद्ध गरेर लैजान्छौं।’

स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् ।

निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताउँदै उनले पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको बताए । दाहालले भने–‘हामी आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिनेछौं । निर्वाचन नजिक आउँदै गर्दा तालमेल बन्ने स्थिति बन्यो भने गठबन्धनका बीचमा नै तालमेल गर्ने भन्ने नीति छ ।’

पार्टी निर्वाचनमा होमिएको बताएका उनले एमसीसीको बारेमा पनि बोल्न भ्याए । एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धीका रुपमा रहेको उनको भनाई थियो । सुरुदेखि नै माओवादीले एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसदबाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाइ थियो ।

एमसीसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको दाहालको भनाइ थियो ।

एमसीसी सम्झौता पारित गरेको भनेर माओवादीका कार्यकर्ताले पार्टी छोड्दैछन् नि ? भन्ने प्रश्नको जवाफमा दाहालले ती व्यक्तिहरू एमालेमा प्रवेश गर्न लागेको टिप्पणी गरे । एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको विरोध गर्नेहरू एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पार्टी एमालेमा जान लागेको उनको दाबी थियो ।

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यक्रम तीव्र पारिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077