काठमाडौँ । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारे ।
आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरुको फरकफरक प्रतिक्रिया जनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताएका थिए। सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह निर्वाचनको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताए । आयोगले २०७४ सालको निर्वाचनमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।
मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।
आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उनले कसैलाई दुविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताए। मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उनले मसी परिवर्तन नहुने सङ्केत गरे ।
Leave a Reply