Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीद्वारा देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ। ‘अहिले हाम्रो पार्टीमाथि चुनौती खडा भएको छ। जहाँ निर्वाचन हुन्छ त्यहाँ पार्टीको उपस्थिति भएन भने समस्या उत्पन्न हुन्छ। त्यसकारण अहिलेको आवश्यकता संगठन निर्माण नै हो’, प्रतिवेदनमा भनिएको छ।

गत भदौ ९ मा एमालेबाट विभाजित भएर बनेको नेकपा एसको केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौंमा सुरु हुँदैछ। सो बैठकमा प्रस्तुत गर्न अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचन घोषणा भैसकेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन्।

‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उल्लेख गरेका छन्।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077