Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्याल्बो ल्होसारले राष्ट्रिय एकतामा थप बल पुर्‍याउने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन्।

उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याइ राष्ट्रिय एकतामा थप बल पुर्‍याउने विश्वास लिएका छन्।

कोभिड–१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै उनले ग्याल्बो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077