Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपतिनाथमा दर्शनार्थीको भीड, १० हजार सुरक्षाकर्मी परिचालित

    पशुपतिनाथमा दर्शनार्थीको भीड, १० हजार सुरक्षाकर्मी परिचालित

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

    बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।



    बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।



    आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उनले बताए ।

    महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले  जानकारी दिए ।

    बिहान ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–गौशाला–चावहिल सडकमा सार्वजनिक र निजी यातायात सञ्चालन भइरहेको छ । लाइन र भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ । यसका लागि नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

    महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ । पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

    पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उनले सुनाए । महाशिवरात्रिका अवसरमा आज भक्तपुरको डोलेश्वर मन्दिरमा पनि निःशुल्क गुर्जो सेवा दिइएको छ ।

    प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार