काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको अमेरिकाले प्रस्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा व्यक्त गरेको हो ।
‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ ।
‘यो वर्ष नेपाल र अमेरिका बीचको सम्बन्धको ७५औं वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं ।’
चीनले शुक्रबार अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको आफूले प्रतिवाद गर्ने चेतावनी दिएको भोलिपल्ट अमेरिकी दूतावासले उक्त धारणा सार्वजनिक गरेको हो ।