Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप छनोट: नेपालद्वारा ओमानसामू ११८ रनको लक्ष्य प्रस्तुत, उत्कृष्ट बलिङको अपेक्षा

काठमाडौँ । ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११७ मात्र बनाउन सक्यो। नेपालका लागि सर्वाधिक अरिफ शेखले ३८ रनको योगदान दिए भने कप्तान सन्दीप लामिछानेले १६ रन बटुले।

खेलको सुरुमै खराब सुरुवात गरेको नेपालले सुरुवाती ४० रन जोड्दा ४ विकेट गुमाएको थियो । यसअघि आब्बल साबित हुँदै आएका ओपनरद्वय आशिफ शेख, कुशल भुर्तेल सुरुमै आउट हुँदा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वउपकप्तान दिपेन्द्रसिंह ऐरी पनि सस्तैमा समेटिन पुगे।

पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेल ५ रनमा गुमायो । केही सम्हालिएर खेल्दै गरेका ज्ञानेन्द्र मल्लले १५ रन बनाए भने ऐरीले ११ रन जोडे ।

यसपछि नेपाली इनिङ्सलाई उकास्दै गरेका लोकेश बम व्यक्तिगत १६ रन बनाएर आउट भए । १६ औं ओभरको अन्तिम बलमा विवेक यादव ७ रन बनाएर आउट हुँदा कमल सिंह ऐरीले १ रन मात्र बनाए।

ओमनका लागि खावर अलिले सर्वाधिक ३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे।

यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ। आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ। अबको दोस्रो इनिङमा नेपालले उत्कृष्ट बलिङ गर्ने अपेक्षा गरिएको छ।

नेपालको प्लेयिङ सेट
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077