काठमाडौं । सत्ता गठबन्धनको बैठकमा एमसीसी सम्झौता टेबल गर्नेबारेमा सकारात्मक छलफल भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिने क्रममा उनले एमसीसीबारे फागुन १६ भित्रै निष्कर्षमा पुग्नेगरी गठबन्धनमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
आज बिहीवारको बैठक सकिएको र भोलि शुक्रवार फेरि बस्ने गरि सकिएको उनले बताए । सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको उनले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए ।
प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्बाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि फेरि बस्ने भएको छ ।