काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक आह्वान गरेको थियो । बैठक केही बेरअघि बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।
बैठकमा एमालेले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ । यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको थियो ।
अहिलेको बैठकमा पनि हिजैको एजेण्डामाथि छलफल हुने स्रोतको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदमविरुद्ध मुद्दा परेको थियो । सो मुद्दामा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काको इजलासले परमादेश जारी गरी प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।
‘सचिवालय बैठकमा महाभियोग लगाउने प्रस्तावबारे छलफल भएको छ, निर्णय भने भएको छैन,’ सचिवालय स्रोतले भन्यो । स्रोतका अनुसार अहिले बसिरहेको बैठकमा सांसदहरूको समेत राय लिएर निर्णय गरिने बताइएको छ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेमाथि गम्भीर षड्यन्त्र भएको र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले चार न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताएका थिए। सत्ता गठबन्धनका सांसदहरुले हिजो प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
Leave a Reply