काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।
आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फागुन १६ अर्थात फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, सत्तारुढ गठबन्धनमा नै एमसीसीबारे मतभेद रहेको छ ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र विवाद हुँदै आएको छ । त्यसैले संसद बैठक पनि पटक–पटक सारिदै आएको छ ।
नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा यो सम्झौता संसदबाट छिटो पारित गर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने एमसीसी सम्झौता संशोधनविना पारित गर्न नहुने अडानमा छन् ।
Leave a Reply