काठमाडौं । दुई दिनदेखि लगातार हिमपात हुँदा उच्च पहाडी हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ । विहिबारदेखिको वर्षाका कारण हिमाली जिल्लाहरुमा मात्र नभई पहाडी तथा काठमाडौंमा समेत हिमपात भएको छ । काठमाडौंको चद्रागिरीमा समेत बक्लो हिउ जमेको छ ।
हिमपातका कारण उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेका कारण घरभित्रै बसेका सर्वसाधारणहरु हिउँ पगालेर पानी उपयोग गरिरहेका छन् । चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको स्थानीयले जनाएका छन् ।
हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रका यातायात सेवा समेत अवरुद्ध बनेका छन् । मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए ।
बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ ।
बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको छैन । पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन् ।
निरन्तरको हिमपातले हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । शुक्रबार बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । स्थानीयवासीका अनुसार उच्च डाँडामा भारी हिमपात भइरहेको छ ।
Leave a Reply