काठमाडौं । हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ । यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो ।
अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरको भनाई छ । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताइन् ।
हिजो परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने छ । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिन भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।
चिसो बढ्दा घरबाहिर निस्कन समेत समस्या भएको छ । यस्तै हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएको छ । अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ ।
Leave a Reply