महोत्तरी । किसान आन्दोलनको नेतृत्व गर्दै आइरहेको डा. सीके राउत नेतृत्वको (जनमत पार्टी) महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेका छन् । यस्तै, पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-१ का वडाध्यक्ष वीरेन्द्र महतो छन् ।
सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका उनीहरूलाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।
आन्दोलनको सुरुवात समयमा पनि केहिदिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए ।
Leave a Reply