काठमाडौं । भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्यावसायीहरुलाई सरकारले कारबाही गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।
बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले अलपत्र बनाउने बैदेशिक रोजगार ब्यावसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका हुन् ।
उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टिम गठन गरेको बताए ।
मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजि खोजि कारबाही गर्ने बताए । मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जान पनि सुझाव दिएका छन् ।