काठमाडौं । राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । १९ पदका लागि हुन लागेको निर्वाचनको मत परिणाम आजै सार्वजनिक गर्ने गरी तयारी गरेको आयोगले जनाएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले कुनै समस्या आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा रहेको बताए ।
सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।