सार्क ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील समेत गरेको छ ।
काठमाडौं । नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था 'सार्क ल नेपाल'ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ ।
सार्क ल नेपालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा न्यायिक नेतृत्व गर्न असफल भएको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेको हो।
‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधान्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ,' विज्ञप्तिमा भनिएको छ।
सार्क लको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैं छिन् भने अर्का न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन्।
यस्तै, बैठकले विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको, न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ठहर गरेको छ ।
सार्क ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील समेत गरेको छ ।