Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै विदेशी यात्रुहरुलाई अनिवार्य होटल क्वारन्टीनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टको सङ्क्रमण रोकथामका लागि विदेशबाट आउने सबै यात्रुलाई 'अनिवार्य होटल क्वारन्टीन'को व्यवस्था गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ। अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नुपर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थगित गरेका बेला स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले यस्तो जानकारी दिएकी हुन्। अध्यागमन विभागले शुक्रवार अमेरिका, क्यानडा, यूके, रुस, कोरियालगायतका देशहरूसमेत कुल ६७ देशबाट आउने यात्रुले सात दिन होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने सूचना निकालेको थियो । तर, शनिवार बिहानै विभागले उक्त व्यवस्था 'अर्को निर्णय नहुन्जेल लागु नहुने' जानकारी दिँदै सूचना निकालेको छ। विभागका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयको सिफारिस र जोखिमयुक्त मुलुकको सूची अनुसार शुक्रवारको निर्णय गरिएको बताएका थिए । यसबारे जानकारी दिँदै प्रवक्ता मिश्रले भनिन्, 'सूची नपठाउने (कुन कुन देश भनेर) सबै देशकै (यात्रुलाई) सात दिन क्वारन्टीन गर्ने भनेर मन्त्रिपरिषद्‌मा गइसकेको छ।' 'त्यो मन्त्रिपरिषद्‌मा गइसकेको छ। त्यसैले अध्यागमनले निकालेको सूचीलाई बेवास्ता गर्नुपर्छ। अहिले स्वास्थ्य मन्त्रालयले सम्पूर्ण देशबाट आउने मान्छेलाई सात दिन क्वारन्टीनको प्रस्ताव गरेको छ।', प्रवक्ता मिश्रले भनिन् ।

शुक्रवार अध्यागमन विभागले मङ्सिर १३ गते मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयका आधारमा भन्दै त्यस्ता देशहरूको सूची निकालेको थियो। उक्त सूचना आएपछि सामाजिक सञ्जालमा कैयौँले त्यसको आलोचना पनि गरेका थिए।

अध्यागमन विभागले सार्वजनिक गरेको र हाल स्थगित उक्त सूचनामा विभिन्न ६७ वटा देशको सूची दिइएको थियो। सूचनामा ती देशहरूबाट आउने यात्रुहरूले 'आफ्नै खर्चमा सात दिन होटल क्वारन्टीनमा बसी कोभिड-१९ को आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने' उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077