Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस उपसभापतिको मतगणना जारी : कहिलेसम्म आउँछ मतपरिणाम ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

१४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरू भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। घिमिरेकाअनुसार आज उपसभापतिका उम्मेदवारको मात्रै मत गणना हुनेछ ।

‘आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ,’ घिमिरेले भने,‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।’ महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।

त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार मतदान भएको थियो । ४ हजार ६ सय ७९ मत खसेको छ । कांग्रेसले पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको हो । सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077