एजेन्सी । भारतको चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा मनोज मुकुन्द नरवणे नियुक्त भएका छन्। प्रथम सिडिएस विपीन रावतको मृत्यु भएपछि नरवणेलाई नियुक्त गरिएको हो।
नरवणे भारतको स्थल सेनाका प्रमुख पनि हुन्। गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा रावत, उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको थियो।
रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालेका थिए। नरवणेको पदोन्नतिसँगै लेफ्टिनेन्ट जनरल चण्डीप्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ।
भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ नियुक्त भएका हुन्। भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आबद्ध रहेका थिए।