Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवाले सभापतिमा ७० प्रतिशत मत अन्तरले जित्ने सम्भावना !

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ५ जना उम्मेदवार चुनावी मैदानमा छन् । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई उम्मेदवारहरु बढी भएका कारण मैदानमा भिड्न सहज हुने देखिएको छ ।

संस्थापनइतर समूहबाटै सभापतिमा दुई जनाले उम्मेदवारी दिएका कारण पनि सभापतिमा देउवालाई सहज हुने कांग्रेस कार्यकर्ताहरु बताउँछन् । संस्थापनइतर समूहबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी दिइसकेका छन्। त्यसैगरी विमलेन्द्र निधि र कल्याण गुरूङ पनि मैदानमा छन् ।

यहि बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई देउवाले भेटेर कन्भिन्स गराइसकेको हुँदा पौडेल पक्ष अब मौन बस्ने सम्भावना बढेको छ । यसअघि पौडेलले कोइरालालाई सघाउने बताएका थिए ।

कांग्रेसमा प्रभावशाली नेता रहेका कृष्णप्रसाद सिटौलाले समेत देउवालाई समर्थन गरेका छन्। कांग्रेस सभापतिमा जित्न ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन्।

कांग्रेसका अधिकांश कार्यकर्ताहरुका अनुसार प्रधानमन्त्री समेत रहेका देउवाले नै यो पटक पनि सभापति जित्ने सम्भावना बढेको छ । देउवाको पक्षमा ७० प्रतिशत मत खस्ने आँकलन गरिएको छ ।

सातवटै प्रदेशको आँकडालाई जोड्दा देउवा निकै बलिया देखिन्छन् । कांग्रेसकाे प्रदेश र केन्द्रका प्रतिनिधि छनोटमा देउवा पक्ष नै बलियो देखिएको र प्रदेशको नतिजालाई आधार मानेर केन्द्रको मत विश्लेषण गर्दा सभापतिमा देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत कटाउने आँकलन गरिएको छ ।

प्रदेश १ मा ७ सय ३७ महाधिवेशन प्रतिनिधिमा देउवा–सिटौलाको पक्षमा ३७० भोट आउने अनुमान छ। त्यसैगरी प्रदेश २ मा आठ सय ८ जना महाधिवेशन प्रतिनिधि रहेकोमा देउवा–सिटौलाको पक्षमा ४०० भन्दा बढी मत आउने आँकलन गरिएको छ ।

बागमती प्रदेशका ३३ क्षेत्रमा ८८० महाधिवेशन प्रतिनिधिमा देउवा–सिटौलाको पक्षमा ४८० जना र बाँकी ४०० जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेको विश्लेषण गरिएको छ ।

गण्डकी प्रदेशका १८ क्षेत्रका ४७७ महाधिवेशन प्रतिनिधिमध्ये देउवा–सिटौलाको पक्षमा झण्डै ३०० जना खुलेरै लागेका छन् ।
लुम्बिनी प्रदेशका २६ क्षेत्रका ६८३ महाधिवेशन प्रतिनिधिहरुमध्येमा देउवा–सिटौलाको पक्षमा ३५० भन्दा बढी रहेको बताइएको छ ।

त्यसैगरी कर्णालीका १२ क्षेत्रका ३१६ प्रतिनिधिमा देउवाको पक्षमा २०५ र सुदुरपश्चिमका १६ क्षेत्रको ४१८ महाधिवेशन प्रतिनिधिमा देउवाको पक्षमा ३५० भन्दा बढि रहेको आँकलन देउवा पक्षको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा ८० प्रतिशतभन्दा बढी मत पाउनसके भने यो प्रतिशत अझ बढ्नसक्ने बताइएको छ।

त्यस्तै केन्द्रीय समिति अन्तर्गत रहेका १०३ जना महाधिवेशन प्रतिनिधिहरुमध्ये ५२ जना देउवा–सिटौलाको पक्षमा र बाँकी ५१ जना कोइराला, निधि र सिंहको पक्षमा रहेका छन् । त्यसैगरी जनसम्पर्क समिति अन्तर्गत रहेका १९५ जनामध्ये पनि अधिकांश देउवा–सिटौला पक्षमा खुलेका छन् ।

कुनै समय देउवा निकट रहेका विमलेन्द्र निधिले देउवाको साथ छाडे पनि कार्यकर्ता देउवासँगै रहेका छन् । निधिले देउवालाई छाडेपनि मधेसका कांग्रेसी प्रतिनिधिहरुले देउवालाई छाडेका छैनन् ।

देउवाले सबै नेतालाई समेटेरे कांग्रेसलाई बचाएर राखेको हुँदा अहिलेको समयमा देउवाकै आवश्यकता देखिएको कांग्रेसकै एक नेता दावी गर्छन् । देउवाले नै नेपाली कांग्रेसलाई बचाएर सबै निर्णय सर्वसम्मत गराउँदै आएका छन् । सबैलाई सहमत गराउने उनको क्षमताको कदर गर्नुपर्ने ती नेता बताउँछन् ।

देउवाले सभापतिमा नजितेको खण्डमा गठबन्धन ब्रेक हुन सक्ने र फेरि पनि केपी ओलीको सरकार बन्ने सम्भावना देखिने हुँदा देउवा अहिलेको समयमा मतदाताहरुको रोजाइमा परेका हुन् ।

कांग्रेसका ती नेता भन्छन्–‘अहिले देउवाकै कारण लोकतन्त्र, संघीयता र गणतन्त्र संस्थागत हुँदैछ । अहिलेको राष्ट्रिय आवश्यकता भनेको देउवालाई सभापति बनाउने, उहाँकै नेतृत्वमा चुनाव गराउने र कांग्रेसको एकमना सरकार बनाउने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077