काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँगको सहकार्यमा पुनः सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवासँग संस्थापन इतरबाटै दुई जनाको उम्मेदवारी परेको छ भने देउवाका निकटस्थ मानिएका विमलेन्द्र निधिले पनि देउवासँग चुनाव लड्दैछन् । संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी सभापतिमा कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन् । सरसर्ती हेर्दा निधिले देउवाकै भोट काट्न सक्ने कांग्रेसी नेताहरु नै बताउँछन् । त्यसो त संस्थापन इतर समूहबाट पनि यो समाचार तयार पार्दसम्म दुबै जनाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा कसको पल्लाभारी हुने हो भन्ने आँकलन गर्न गाह्रो छ ।
सिटौलासँग एलाइन्स गरेका देउवालाई ‘आफ्नै’ भन्नेहरुले साथ नदिने संकेत देखा पर्न थालेको छ । संस्थापनमा सिटौलाको हालीमुहाली बढ्दै जाँदा देउवाका निकट मानिएका पहिलो तहका नेताहरु नै तितरवितर हुन थालेका छन् । सिटौला हावी भएको भन्दै निर्वाचनको मुखमा पनि उनीहरु खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लागेका छैनन् ।
देउवाले नेता सिटौलासँग मिलेर आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने नेताहरु बताउँछन् ।
देउवाका सारथी मानिएकाहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. नारायण खड्का, एनपी साउद, रमेश लेखक, मिन विश्वकर्मा, शंकर भण्डारी, मोहनबहादुर बस्नेतहरू नै अहिले देउवासँग रुष्ट बनेका छन् ।
कार्की सञ्चारमन्त्री, खाँण गृहमन्त्री र खड्का परराष्ट्रमन्त्री छन् । साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेत केन्द्रीय सदस्य थिए । यी सबै १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए । तर, कसैले पनि पदाधिकारीको टिकट पाएनन् ।
महामन्त्रीमा खाँण र कार्कीको चर्चा चलेपनि सिटौला कोटाबाट जुनियर मानिएका प्रदिप पौडेलले बाजी मार्दा देउवा कोटाबाट भने डा. प्रकाशशरण महतले बाजी मारे । लेखकले त आफैं गएर केन्द्रीय सदस्यको मनोनयनसमेत दर्ता गराएनन् । महाधिवेशनस्थलमै भएर पनि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरे । विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी नै फिर्ता लिए भने खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता नै गराएनन् । देउवाको सूचीमा नअटेका कारण विश्वकर्माले मनोनयन फिर्ता लिएका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ ।