Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पौडेल पक्षका नेताहरुलाई घरमै छाडेर देउवा भेट्न बालुवाटार पुगे शशांक

काठमाडौं । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् ।

महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् ।

कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् ।

अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । यो समाचार तयार पर्दासम्म सभापतिमा शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

संस्थापन इतर समूहबाटै दुई जना उम्मेदवार हुने देखिएका बेला पौडेल र शशांकले कसलाई समर्थन गर्ने भन्ने अझै खुलेको छैन । यस्तो अवस्थामा घरमा जारी बैठक छाडेर शशांक देउवा भेट्न बालुवाटार गएको हुँदा त्यहाँबाट कुनै ठोस निर्णय आउन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077