Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनमाथि खनिए ओली, नेपाल र प्रचण्ड, कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आज उद्घाटन भएको छ। सत्तारुढ दलको महाधिवेहनको उद्घाटन सत्रमा नेपालका राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थिति रहेको छ।

सम्बोधनका क्रममा नेताहरुले एकअर्कालाई कटाक्ष पनि गर्न भ्याएका छन्। लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकै मञ्चमा देखिए। सो क्रममा उनीहरुबीच ठूलै वादविवाद होला भन्ने सोचिएको थियो।

तर त्यहाँको परिस्थिति फरक देखियो। कम्युनिस्ट नेताहरु आपसमा भिडेनन्, थोरै कटाक्षमा भने उत्रिए। तर बसै मिलेर राजावादीको आलोचना गरे।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेताहरूप्रति गर्ने व्यवहार राम्रो नभएको बताएपछि कम्युनिस्ट नेताहरुले उनलाई जवाफ फर्काए। राप्रपाको अध्यक्षमा केही दिनअघि मात्रै निर्वाचित भएका लिङ्देनले शुभकामना मन्तव्य दिने क्रममा देशको राजनीति लिक बाहिर गएको भन्दै नेताहरु गाउँ जाँदा ‘कुन चोर आएछ ?’ भन्ने गरेको बताएपछि कम्युनिस्ट नेताहरु लिङ्देनप्रति आक्रोशित बन्न पुगेका हुन्।

लिङ्देनले यस्तो टिप्पणी गरेपछि ओली, नेपाल र प्रचण्ड उनीमाथि खनिए। ‘आज पनि नेपालका नागरिकहरुले नागरिक स्वाभिमान बिर्सने ? जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मँदै यस्तो शासक भएर जन्मन्छ भन्ने यस्ता निराधार सिद्धान्त बोक्ने ? भन्दै ओलीले प्रतिप्रश्न गरे।

ओलीले लिङ्देनलाई भर्खर–भर्खर जन्मिएको बाच्छोको संज्ञा समेत दिए। ‘हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा अलिकति यस्तो कुरा आएको होला । भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढि कुद्छ क्या’, ओलीले भने।

प्रचण्डले पनि लिङ्देनको भनाइको प्रतिवाद गरे। उनले भने, ‘यसअघिका एकजना वक्ताले नेताहरु गाउँ आए भने गाउँमा चोर आए भन्छन् भन्नुभयो, तपाईहरुले सुन्नुभयो। यो साँचो हो त ? होइन। गलत हो।’

यसो भन्नेहरु निरंकुशता र तानाशाही जन्माउने षडयन्त्रका रुपमा आफूले बुझेको प्रचण्डले बताए। नेपालले राजतन्त्र ल्याउँछु भनेर दुस्साहस नगर्न चेतावनी दिए। बरु राजाले पनि पार्टी खोले हुन्छ भन्दै सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077