काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मञ्च छाडेर हिंडेका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफाबाट उठेर हिंडिसकेका थिए ,
कार्यक्रममा नेपाल र प्रचण्डको भाषण भने ओलीले सुनेका थिए । तर, ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिए । यस्तै, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरे ।
यसैगरी ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताए । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिएका छन् ।