बुटवल । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको नेतृत्व छान्ने विषयमा विवाद जारी रहेको छ ।
स्रोतका अनुसार केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा पुगेको छ ।
प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेदारी परेपनि केही नेताहरुले आफू निकटकालाई पठाउन खोजेका कारण ढिलाई भएको स्रोतको भनाइ छ। प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेतृत्वका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।
लुम्बिनीमा आफ्नो प्रभाव जमाएका केन्द्रीय नेताहरू वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनी प्रदेश अध्यक्षमा दिपेन्द्र पुनलाई ल्याउन चाहेको कार्यकर्तामाझ चर्चा छ । तर, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भने दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन चाहेको स्रोतको भनाइ छ।
पार्टीका रुपन्देही संयोजक निर्मलकुमार जीसी र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले विधानविपरीत आफ्नो मान्छे ल्याउन खोजेकाले समस्या भएको स्रोतको भनाइ छ।
त्यहाँका नेता कार्यकर्ताले नारायण बन्जाडे, मनोज राना, मन्जु भुसाल, मणि भट्टराईलाई ल्याउन खोजेपनि नेतृत्वको क्षमता नभएकोले आफ्नो एस म्यान ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् ।
उनीहरुलाई बामदेव शर्मा, विनोद पहाडीलगायतका नेताहरुले अगाडि सारेका छन् भने संयोजक जिसी, इन्चार्ज बिश्वकर्मा र बुटवल नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नेतृत्वमा आउन नदिनेमा छन् ।
यसअघि तीन दिनअघि नेतृत्व छान्न बसेको विषयमा दुवै समूहका नेताहरुबीच हात हालाहालको स्थिति भएको थियो ।
सो क्रममा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण हुन थालेपछि उनले पनि आफ्नो थप शक्ति बोलाएकको स्रोतको दाबी छ ।
अहिले पार्टी कार्यालयमा दुवै समूहबीच पटक-पटक हात हालाहालको अवस्था आएपछि दुवै समूहले आफ्नो समूह बलियो बनाएका छन् ।
माओवादीको लुम्बिनी प्रदेश सम्मेलन २५ र २६ मंसिरमा दाङको भालुवाङमा हुँदैछ ।