काठमाडौं । नेपाली कांग्रेसको महाधिवशेन मुखैमा छ। शुक्रबारबाट महाधिवेशन शुरु हुने भए पनि हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सभापतिको साझा उम्मेदवार तयार गर्न सकेको छैन।
पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह आफ्नो समूहबाट एक्लो उम्मेदवार बन्नुपर्छ भन्नेमा सहमत छन् तर त्यो एक्लोचाँहि को बन्ने भन्ने सहमति हुन सकेको छैन। पौडेल र शशांकले सहमति भए आफू पछि हट्ने बताइसकेका छन्। यस्तोमा शेखर र प्रकाशमानबीच सहमति हुन आवश्यक देखिएको छ।
४ नेताहरुले विभिन्न विकल्पबारे पनि छलफल जारी राखेकाक छन्। वडा, नगर, जिल्ला हुँदै प्रदेश अधिवेशन सकिँदा संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा समूह बलियो देखिएको छ। सभापतिमा शेरबहादुर देउवा आफ्नो समूहबाट निर्विकल्प हुन्। यसो त उनीसँग लामो समयदेखि साथ रहेका विमलेन्द्र निधिले छुट्टै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
संस्थापन इतर समूहका नेताहरुले सहमतिका लागि राज्यका मुख्य पदहरुबारे पनि अहिले नै भागबन्डा लगाउने प्रयास पनि गरेको बुझिएको छ। राज्यका मुख्य पदहरू (राष्ट्रपति र प्रधानमन्त्री) को बाँडफाँट गरेर नेता व्यवस्थापन गर्नेसम्मका विषयमा छलफल भएको छ। शेखर र प्रकाशमान दुवैले एक व्यक्ति एक पदको अवधारणा अघि सारेका छन्। दुवैले प्रधानमन्त्री र राष्ट्रपति पदमध्ये एकमा पौडेललाई व्यवस्थापन गर्न सकिने प्रस्ताव गर्दै आएका छन्। शेखरले आफू पार्टी सभापति भए प्रधानमन्त्री नबन्ने बताएका छन्।
यस महाधिवेशनमा शेखरलाई सभापतिमा जिताए प्रकाशमानलाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको छ। शशांकलाई १५ औं महाधिवेशनमा सभापति बनाउने र देशको कार्यकारी प्रमुखको जिम्मा पौडेललाई दिलाउने प्रस्ताव भएको छ।
प्रकाशमानले आफू सभापति भएमा शेखरदालाई प्रधानमन्त्री, रामचन्द्रलाई राष्ट्रपति र शशांकलाई भावी सभापति बनाउन प्रस्ताव गरेका छन्। आज आफूनिकट केन्द्रीय सदस्यहरुसँगको छलफलपटि उनीहरु एक निष्कर्षमा पुग्ने बताइएको छ।
Leave a Reply