चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा पदमा उम्मेदवारी दिएका निवर्तमान उपाध्यक्ष भीम रावल पराजित भए। सर्वसम्मत नेतृत्व चयनको अलोकतान्त्रिक प्रयास विफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका रावल केन्द्रीय सदस्यमा भने विजयी भए।
मतदान हुनुअघि नै रावलले जिते अध्यक्षको हैसियतमा काम गर्ने र हारे कुनै पनि पदमा नबस्ने बताएका थिए। मंगलबार साँझ पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरे। तर, रावलले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै शपथ लिएनन्।
शपथको कार्यक्रमपछि सबै केन्द्रीय सदस्यहरु वैठकका लागि गएका थिए। रावल भने एक्लै बाहिरिए। बाहिरिने क्रममा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै रावलले आफू अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको जानकारी दिए।
‘महाधिवेशनका विविध पक्षको विवेचना म काठमाडौंमा गएर गर्नेछु । तर, जुन वातावरणमा मैले जति मत प्राप्त गरेको छु, त्यसलाई महत्वपूर्णरुपमा लिएको छु,’ उनले भने।
रावलले अघि प्रश्न गर्दै भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदारी नै दिएको छैन भने कसरी निर्वाचित हुन सक्छु ?’ उनलाई पत्रकारले ‘पार्टीका कमिटीमा नबसीकन अब कसरी काम गर्नुहुन्छ’ भनेर प्रश्न सोधे। जवाफमा रावलले छोटो उत्तर दिए, ‘सोचौंला नि भोलीदेखि।’