Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले भीम रावललाई जानाजान किन जिस्क्याए ?

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भयो। आइतबार बिहानका लागि तय भएको बन्दसत्र रोकेर नेताहरु सहमति गर्ने प्रयासमा जुटे।

तर त्यो प्रयास कतातिर केन्द्रीत भयो भन्ने खासै मेसो पाइएन। एमालेभित्र सबैजसो नेताहरु सहमतिमा नै नेतृत्व, पदाधिकारी तथा अन्य सदस्यहरु चयन गर्न राजी थिए। जसअनुसार अध्यक्ष ओलीलाई यसबारे निर्णय गर्न र नाम छान्न सर्वाधिकार नै दिइयो।

तर एमालेका दुई शीर्ष नेताले यसको विरोध गरे। ती हुन् भीम रावल र घनश्याम भुसाल। रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने भुसालले उपाध्यक्षमा। उनीहरु दुबै सहमतिभन्दा पनि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा थिए।

आइतबार राति ओलीले आफूनिकट नेताहरुको सहयोगमा पदाधिकारीहरु र केन्द्रीय सदस्यहरुको नाम तयार पारे। अचम्मको कुरा के रह्यो भने सहमतिका लागि भनेर गरिएको पदाधिकारीहरुको प्रस्तावमा अध्यक्षका प्रत्यासी रावल र उपाध्यक्षका प्रत्यासी भुसालको नाम थिएन।

यता रावल समूहले भने सहमतिका आधारमा चयन हुने पदाधिकारीमा रावलको नाम वरिष्ठ उपाध्यक्षमा आए सहमतिमै जान जोड दिएका थिए। तर उनको नाम उपाध्यक्षमा पनि अटाएन। यसबाट प्रष्ट के हुन्छ भने ओलीले जानाजान रावल र भुसाललाई उपेक्षा गरेका हुन्। रावल पक्षीय नेताहरुले ओलीले जिस्क्याएको तर्क गरेका छन्।
यद्यपी रावल र भुसालको नाम केन्द्रीय सदस्यमा भने समावेश गरिएको छ। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन्। महासचिवमा भने शंकर पोखरेलको नाम राखिएको छ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरिएको छ। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव भयो।

अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भइसकेको छ। यसमा ओली र रावलबीच प्रतिस्पर्धा हुनेछ। भुसालले उपाध्यक्षमा उम्मेदवारी दिए त्यसमा पनि निर्वाचन हुनेछ भने केन्द्रीय सदस्यको नामावली मन नपरे त्यसमा पनि उम्मेदवारी दिन सकिने एमालेले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077