काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रताव गरेका छन्।
आफू निकट नेताहरुको सहयोगमा तयार भएको सो सूचीमा उनको खास मानिएका केही व्यक्तिहरु छुटेका छन्। ‘केपी ओलीको लागि छातीमा गोली थाप्न तयार छु’ भन्दै सचिवमा दाबेदारी प्रस्तुत गरेका महेश बस्नेतको नाम पदाधिकारीको सूचीमा छैन।
त्यस्तै केन्द्रीय सदस्यको दाबी गर्दै सौराहमा भाइरल बनेका दुर्गा प्रसाईको नाम पनि केन्द्रीय समितिको सुचीमा छैन। यसो त ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा भीम रावल र घनश्याम भुसालको पनि नाम समेटिएको छैन।
महाधिवेशनको बन्दसत्रमा आइतबार राती पेस गरिएकाके सुचीमा बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौड्याल र सुवासचन्द्र नेम्वाङ्गको नाम छ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ्ग, विष्णु रिमाल रहेका छन्।
त्यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ।
ओली स्वयम भने सर्वसम्मत अध्यक्ष बन्न असफल भएका छन्। अध्यक्षमा उम्मेदवारी घोषणा रावलले पछि नहट्ने अडान लिएपछि अध्यक्षका लागि निर्वाचन हुने पक्का भएको छ।