काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने हिजो गरेको निर्णय आज खारेज गरेको छ ।
शुक्रबार बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यी सामान आयात बन्देज तत्काललाई हटाइएको परिपत्र जारी गरेको थियो । तर, २४ घण्टा नबित्दै उक्त निर्णय फिर्ता भएको भन्दै राष्ट्र बैंकले अर्को परिपत्र जारी गरेको छ ।
बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
त्यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्रतिबन्ध पनि हटाउँदै चालु आर्थिक वर्षभित्र २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने जनाएको थियो ।
छोकडा पैठारीमा लगाएको पूर्ण बन्देज हटाउँदै ५० हजार मेट्रिक टन आयात गर्न सक्ने व्यवस्था गरेको थियो
त्यसैगरी ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधन आयातमा लगाएको पूर्ण बन्देज पनि हटाएको थियो । सोहीअनुसार विदेशी मुद्रा सटही सुविधा दिन क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलाई निर्देश गरेको थियो । अब यी सामान आयातमा गत असोज १७ गतेको निर्णयअनुसार नै बन्देज कायम रहनेछ ।
