काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु छनोटमा जुटेका छन् ।
मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्री छनोटमा जुटेका हुन् ।
यसैबीच मन्त्री छनोटलाई औपचारिकता दिन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि नै माओवादीले अध्यक्ष प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।
यसैगरी, जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दैछ । केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्ने बैठकमा मन्त्री छनोटबारे छलफल हुने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
सत्ता गठबन्धनको मंगलबारको बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।
हाल सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी मा कानुनमन्त्रीकांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्रीमा बालकृष्ण खाँण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।
स्रोतका अनुसार यदि दलहरुको छलफलले मन्त्रीहरुको टुंगो लगाएमा भोलि (घटस्थापना)को दिन सपथ ग्रहण हुने बताइएको छ।
Leave a Reply