Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उनले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’नारा तय गरेको छ । यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियमसहितको बिमा गराउने, यातायात् सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले उल्लेख गरे ।

हाल कोभिड–१९ को महामारीबाट विश्व आक्रान्त रहेको अवस्थामा समस्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी स्वस्थ्य रहन अनुरोध गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा सुविधा प्रदान गरी उच्च सम्मान व्यक्त गर्न सम्बद्ध सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

दिवसका अवसरमा उनले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077