काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पूर्ण रहेको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन गर्ने व्यक्तिमा समस्या हुन सक्ने भएपनि संविधान पूर्ण रहेको दाबी गरे।
कार्यक्रममा ओलीले भने, ‘यो संविधान ऐतिहासिक दस्तावेज हो। आन्दोलनको सफतालको दस्तावेज हो, उनले भने, कसैका समस्या होलान् तर संविधानमा समस्या छैन, जनताको ठूलो बलिदानको आकांक्षाको प्रतिरुप र प्रतिफल हो।’
पूर्वप्रधानमन्त्री ओलीले संविधान जारी गर्दाको क्षण सम्झदै आफूहरुले शक्तिको दबाब झेलेर र त्यसलाई पछारेर संविधान जारी गरेको उनले बताए।
उनले भने, ‘हामीले ती बाधाव्यवधान पन्छायौं । त्यसैले यो दिवस मनाइरहेका छौं। संविधान जारी गर्दै गर्दा अशोभनीय क्रियाकलाप भए। जनतामा उत्साह व्यापक थियो। देशमा खुशीयाली छाएको थियो, दिपावली गरिएको थियो। दुःखित हुने सानो तप्का पनि थियो। त्यसलाई बल पुर्याउने शक्ति पनि थियो। हामीले कठोर नाकाबन्दी खप्नुपरेको थियो।’