काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले अमेरिकालाई उक्त लक्ष्य दिएको हो ।
ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मध्यम सुरुआत गरेको थियो । नेपालको माथिल्लो मध्यक्रमदेखि टेल इन्डर्ससम्म कोही पनि नचल्दा ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि गुल्शन झासँग अर्को ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।
कुशल ३६ र गुल्शन २८ रनमा आउट भए । करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए भने अरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।
अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे । सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।
Leave a Reply