Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेसँग निकटता बढाउँदै कांग्रेस, ओली र कानुनमन्त्रीबीच भेट

काठमाडौं – संसदको गतिरोध अन्त्य गर्न सरकारले सक्रियता देखाएको छ। बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

मन्त्री कार्की ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन्। संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ।

सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन्।

मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ। एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ। संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ।

अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ। उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि सत्ता पक्षले विपक्षीलाई सहमतिमा ल्याउने कोसिस गर्न थालेको हो।

यता सत्ता गठबन्धनमा फाटो आउन थालेपछि यस भेटलाई थप महत्त्वका साथ हेरिएको छ। कतिपय एमाले नेताहरुले अब देशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताउन थालेका छन्। कांग्रेसले पनि एमालेलाई निकट बनाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077