काठमाडौं – आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो।
शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच सभामुख अग्नि सापकोटाले सदन अघि बढाएका थिए। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट पेश गरेका थिए।
सो बैठकमा एमाले सांसदहरुले उग्र प्रतिवाद गरेका थिए। तर सत्तागठबन्धनको आग्रहमा सभामुख सापकोटोले विपक्षी दललाई पेलेरै संसद चालु राखेका थिए।
आजको बैठकमा एमालेको रणनीति के ?
शुक्रबारको बैठकपछि उमाले झन् चिढिएको छ। एमालेले संसदमा कुनै अप्रिय घटना भएमा त्यसको जिम्मा सभामुदले लिनुपर्ने भन्दै चेतावनी दिइसकेको छ।
आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ। सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै रुष्ट बनेको एमालेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउँदै आएको छ।
एमाले फुटाउन सभामुख नै सहयोगी बनेको आरोप उनीहरुको छ। पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको हो।
सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए। अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ। तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए।