काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए ।
त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो । पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।
अहिले हो-हल्ला र नाराबाजीका बाबजुत स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन: सुचारु भएको छ ।
एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यद्यपि अहिले पनि नाराबाजी र बिरोधकै बीच सभामुखले बैठक सुचारु गरेका हुन्।