काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएकाे छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई अनुसार एमालेले अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सर्वाेच्च जान लागेको हो।
‘केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईले अनलाइन नेपालसँग भने ।
गत भदौ १ गते एमालेले पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो । तर, आयोगले यही भदौं ९ गते माधव नेपाललाई नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।