सप्तरी । सप्तरीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा बाराको कोतबाल गाउँपालिका वडा नम्वर ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङ्करको ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि रुपनी गाउँपालिका स्थित युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सुनसरीको चतराबाट दर्शन गरी ना ४ ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ : ४० बजेको समयमा खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा उनलाई ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चालक र ट्याङ्करसहित प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता काफ्लेले बताए ।