Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीप्रति नरम बन्दै नेपाल, एमाले एकताको मिलनबिन्दु के ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनःस्थापना लगायत महत्त्वपूर्ण राष्ट्रिय एजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्।

प्रतिनिधिसभा पुनःस्थापना भएपनि फागुन २८ गतेपछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा सशक्त रुपमा उत्रिन सकेका छैनन्।

पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् तर अझै मिलनविन्दु भेटिएको छैन।

पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन। नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाव दिएका छन्। सुझावप्रति नेपाल लचिलो भएका छन्।

ओली अहिले राष्ट्रिय एजेन्डामा कमजोर भएका र त्यसमा आफ्नो पक्षको जीत भएको दाबीसहित नेपाल पक्षधर केन्द्रीय सदस्यले अन्तिम अवस्थासम्म समेत सम्मानजनक एकताको पक्षमा उभिनुपर्ने बताएका छन्।

बिहीवार र शुक्रवार चलेको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यले पार्टीभित्र सम्मानजनक एकताको मत राख्नुपर्ने बताएपछि वरिष्ठ नेता नेपालले सम्बोधनका क्रममा आफू निकै जिम्मेवार भएको उल्लेख गर्दै केन्द्रीय सदस्य तथा अन्य नेताहरुलाई पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिए। उनले त्यसक्रममा संयमित भएर अभिव्यक्ति दिन पनि सबै नेतालाई आग्रह गरेका थिए। उनले अध्यक्ष ओली सुध्रनेवाला नभए पनि अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहने बताएका छन्।

‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारविरुद्ध हामीले संघर्ष गर्दै आएका छौं। यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ वरिष्ठ नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमै छु। एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहने छ।’

नेपाल पक्षका नेताहरुले एकताको टुंगो नलाग्दासम्म ओली पक्षद्वारा अघि सारिएका संगठन निर्माणका काम रोक्नुपर्नेमा जोड दिएका छन्। तर ओली पक्षका नेता तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संगठन निर्माण र पार्टी गतिविधि रोक्न नमिल्ने बताएका छन्।

ओली पक्षले केन्द्रीय कमिटीको बैठक रोक्न अस्वीकार गरिरहेका बेला वरिष्ठ नेता नेपालले पार्टी एकताको विषय आफ्नो एक्लो प्रयासले मात्रै सम्भव नहुने अभिव्यक्ति समेत दिए। शनिवार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो चाहना पार्टी विभाजन होस् भन्ने नरहेको तर आफूले मात्रै प्रयास गरेर सम्भव नहुने देखिएको बताए।

आफू पक्षका केन्द्रीय सदस्यहरूले पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपालको यो अभिव्यक्तिले उनी नरम बन्दै गएको संकेत गर्छ।

नेपालनिकट केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार अधिकांश नेताहरूको मत आत्मसम्मान सहितको एकता आफूहरुले चाहेको रह्यो। ‘पार्टी विभाजन गर्नु हुँदैन भन्ने अधिकांश नेताको मत थियो तर एकता गर्दा आत्मसम्मान गुमाउनु हुँदैन भन्ने मत पनि बलियो छ,’ उनले भने। उनका अनुसार नेता नेपालले चाँडै एकता प्रक्रिया टुंग्याउनुपर्ने पनि बताएका थिए।

साउन २४ गतेभित्रै एकताको विषय टुंग्याउनुपर्ने र त्यसदिन बोलाइएको बैठक २०७५ जेठ २ गतेअघिको हुनुपर्ने धारणा नेता नेपालको रहेको ठाकुरको भनाइ थियो। ओली पक्षले भने सो विषयमा पुनर्विचार नहुने बताउँदै आएको छ। यसमा अध्यक्ष ओली भने मौन देखिएका छन्।

नेता नेपालले आफू निकै लचकदार भएको समेत बताउँदै आएका छन्। उनले अहिलेको विधानअनुरुप ७० वर्षे प्रावधानलाई कार्यान्वयन गर्ने र सबै नेताले दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्ने विषयमा आफू तयार रहेको बताउन थालेका छन्।

आन्तरिक विवादमा आफ्नो एजेन्डालाई राष्ट्रिय रुपमा जितेका नेपालले ओलीको विकल्पमा दोस्रो पुस्ता आए स्वीकार्न तयार रहेको बताए। ‘केन्द्रीय कमिटीका बहुमत सदस्य, स्थायी कमिटीका पनि बहुमत सदस्यले नै सम्माजनक पार्टी एकताको पक्षमा कुरा राखे। उनीहरुले माओवादी केन्द्रसँगको गठबन्धन भरपर्दो नहुने बताए।

त्यसकारण पनि पछिल्लोपटक नेपाल बढी नै दबाबमा परे,’ नेपालनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘त्यस किसिमको दबाबपछि नेपालले अध्यक्ष ओली तयार भए आफू विधानमा भएको ७० वर्षे प्रावधानअनुरुप दोस्रो पुस्तामा पार्टी हस्तान्तरण गर्न समेत तयार भएको बताएका हुन्।’

उनका अनुसार नेताहरुले ओलीबाट सबै विकल्पमा ढोका बन्द गरे मात्रै अर्को कदम चाल्नुपर्ने सुझाव दिए। ‘एमालेमा अन्तरसंघर्ष पहिला पनि थियो, अहिले विवाद बढेको मात्रै हो, अन्तरसंघर्ष गर्नुपर्छ, एकतामा ओलीले ढोका नै बन्द गरे मात्रै विकल्प खोज्ने हो भन्ने कुरा आयो,’ स्रोतले भन्यो, ‘पार्टी फुटाएर जाँदा एजेन्डा स्थापित हुँदैन। कांग्रेसलाई सरकार बनाउन पार्टी फुटाएको ठहर्छ भन्ने मत बलियो भयो।’ तर नेता नेपालले शनिवार दिउँसो एक कार्यकर्ता भेलामा भने आजसम्म लक्षण राम्रो नभएको भन्दै निराशा पनि व्यक्त गरे।

‘आजसम्म हेर्दा लक्षण राम्रो छैन, त्यहाँ गएर टाउको ठोक्काउने, चिच्याउने होइन, सम्मानजनक अवस्था भएन भने फेरि पनि उही पुरानै अवस्था सिर्जना हुन्छ,’ निकट कार्यकर्ताहरुलाई जुम बैठकमा नेता नेपालले भनेका थिए। तर यति हुँदाहँुदै पनि उनले अर्को पार्टी खोल्ने चाहना नभएको र एमालेलाई नै क्रान्तिकारी धारको पार्टी बनाउने बताएका थिए।

वरिष्ठ नेता नेपाल र उनको पक्षले क्रमशः लचकता अपनाउन थालेपछि महासचिव ईश्वर पोखरेललगायत केही नेता पार्टी मिलाउनेभन्दा पनि भड्काउने गतिविधिमा लागेको नेपाल पक्षको दाबी छ। महासचिव पोखरेलले दोस्रो अध्यक्ष मान्न सकिन्नँ भन्ने गरेको, विवाद निरूपणमा सक्रिय रहेको कार्यदलका सदस्यहरुलाई बराबरी अधिकार दिनु हुँदैन भनेर लबिङ गरेको जस्ता आरोप नेपाल पक्षले लगाएको छ।

‘ओली बराबरी अधिकार दिन सहमत भइसक्दा महासचिव पोखरेलले आफैं ओलीको अगाडि बसेर यस्ता विषयमा सहमत हुन सकिँदैन भन्न थालेका थिए,’ नेपाल पक्षका एक नेताले भनेका छन्। महासचिव पोखरेलकै कारण पार्टी एकता नहुने खतरा पनि बढ्दै गएको दाबी उनले गरेका छन्। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077