चितवन। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन्।
'आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ,'उनले भने। पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए। कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए।
'पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ, कोइरालाले भने, 'सबै निर्वाचन लडे हारिन्छ। एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।'
फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए।