Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले माधव समूहको बैठक : यी हुन् बिहीबार भएका निर्णयहरु

काठमाडौं । बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि थप पहल गर्ने निर्णय गरेको छ।

आज अपराह्न बसेको बैठकमा नेता नेपालले पार्टी एकताका लागि प्रयास भइरहेको भन्दै थप कदमहरू चालिने बताएका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रघुजी पन्तले आफूहरू सकारात्मक ढंगले अघि बढिरहेको बताए।

‘पार्टी एकताको काम सकारात्मक ढंगले अघि बढिरहेको छ। यसअघि भएका सहमतिहरूको समीक्षा भएको छ र अब थप गर्नुपर्ने कामका बारेमा आज छलफल  भयो।’बैठकमा नेता नेपाल पक्षबाट कार्यदलमा नेतृत्व गरेका भीम रावलले कार्यदल यसअघि भएको १० बुँदे सहमतिका बारेमा विस्तृत व्याख्या गरेका थिए।

नेकपा एकतापूर्वको स्थितिमा पार्टीलाई फर्काएपछि बस्ने केन्द्रीय कमिटी बैठकले गरेका निर्णय मात्र मान्य हुने कुरा बैठकमा उठेको थियो। बैठकले कोरोनाविरुद्धको खोप छिटो भन्दा छिटो सबै नागरिकलाई पुर्याउनुपर्ने, बाढी पहिरोबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने, महाकालीमा तुइन काटिएपछि बेपत्ता भएका जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै सरकारसँग मागसमेत गरेको छ।

आजको बैठकमा नेता नेपाल, बिजय पौडेल, दिनेश राई, बलराम बास्कोटा, रामकुमारी झाँक्री, झपट रावल बलदेव चौधरी, भानुभक्त जोशी लगायत १० जनाले आफ्नो विचार राखेका थिए।

नेता पन्तले सरकारमा जाने कुनै सम्भावना नरहेको समेत बताए। ‘हामी सरकारमा जाने कुनै सम्भावना छैन,’ पन्तले सञ्चारकर्मीहरूसँग भने। आजको बैठकमा ७० केन्द्रीय सदस्य उपस्थित भएका थिए। बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077