काठमाडौं । आगामी भदौ १६ गतेदेखि हुने भनिएको सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सोही मितिमा हुने सम्भावना टरेको छ।
तर, पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पार्टीका शीर्ष नेताहरूको बैठकमा महाधिवेशन भदौ १६ मै हुने ठोकुका गरेका थिए । देउवाले शीर्ष नेताहरुलाई आफ्नो निजी निवासमा महाधिबेशन भदौं १६मै हुनेमा ढुक्क रहन भन्दै भने, ‘हुन्छ, हुन्छ, हुन्छ।’
तर कसरी ? सभापति देउवाकै निकट नेताहरू अलमलमा रहेको बुझिएको छ। देउवानिकट एक नेता भन्छन्, ‘महाधिवेशन भदौ १६ मै हुन्छ भनेर सभापतिले भन्नुभएको छ । कसरी हुन्छ भन्ने पनि उहाँबाहेक अरुलाई थाहा छैन।’
बुधबारकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन एक दिन पनि सार्न नहुने बताए । तर, क्रियाशील सदस्यताको समेत टुंगो नलागेको अवस्थामा १ महिनाभित्रै कांग्रेसको वडादेखि केन्द्रसम्मको महाधिवेशन कसरी हुन्छ ? अर्को प्रश्न त्यहाँ खडा भएको छ।
यसबारे पौडेलनिकट नेताहरू पनि ढुक्क भने छैनन् । ‘परिस्थिति हेर्दा महाधिवेशन नहुने निश्चित भइसकेको छ तर रामचन्द्र दाइको कन्फिडेन्स किन बढेको हो ? जसरी नि महाधिवेशन हुन्छ भन्नुहुन्छ’, पौडेलनिकट नेताले भने।
यता पार्टीका अन्य नेताहरु भन्छन, ‘कांग्रेसको विधिसम्मत पनि महाधिवेशन भदौ १६ मा हुन सम्भव छैन ।’ किनकी निर्वाचन समितिले नै प्रक्रिया शुरू भएको कम्तीमा ५३ दिनपछि महाधिवेशन गर्न सकिने खाका शीर्ष नेताहरूलाई देखाइसकेको छ ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, निर्वाचन प्रतिनिधिको प्रशिक्षणदेखि सबै काम सकेर दू्रत गतिमा अधिवेशन सक्दापनि ५३ दिन लाग्ने बताइसक्दापनि नेताहरु महाधिवेशनको विकल्प वा नयाँ मितिबारे बोलन खोजिरहेका छैनन् । अहिले नै यसबारे बोल्दा महाधिवेशन गर्न नसकेको अपजस आइपर्ने चिन्ता नेताहरूमा देखिन्छ ।
आजको मितिबाट भदौ १६ आउन जम्मा ३५ दिन बाँकी छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपनि कतिपय जिल्लाको विवाद थाँती नै छ । समायोजनका नाममा बाँडिएका क्रियाशील सदस्यताको विवाद अझै सुल्झेको छैन । निर्वाचन निर्देशिका तयार भएकै छैन । यस्तो अवस्थामा नहुने महाधिवेशनको रटान लगाउन कांग्रेस नेताहरुले छाडेका छैनन् । ‘भदौ १६ मा महाधिवेशन नहुने निश्चित छ तर यसको घोषणा गर्न अझै केही समय लाग्छ’, कांग्रेसका एक पदाधिकारीले भने ।
पछिल्लो कार्यतालिका अनुसार साउन १२ मा हुनुपर्ने वडा अधिवेशन प्रभावित भएका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका निष्क्रिय भइसकेको छ । सभापति देउवाले भदौ १६ मै महाधिवेशन हुनेगरी नयाँ कार्यतालिका ल्याउन निकट नेताहरूलाई निर्देशन दिएका छन् । तर, महिनादिनमै महाधिवेशन गर्ने विश्वासिलो आधार पहिल्याउन उनीहरूलाई अप्ठ्यारो परेको देखिन्छ।
Leave a Reply