काठमाडौं । प्रतिनिधिसभाको बैठक अघि नेकपा (माओवादी केन्द्र) को पनि संसदीय दलको बैठक बस्ने भएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।
पुनःस्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले पनि आइतबार नै संसदिय दलको बैठक डाकिसकेका छन् ।