काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्यामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।
नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक–पटक प्रतिनिधि सभालाई विघटन गर्ने काम गरेकोप्रति असन्तुष्टि पोख्दै नेपालले भनेका छन्–‘झन्डै मृत्युशय्यामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’