काठमाडौं । महाधिवेशनको तयारीमा लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शनिबार विहान आफ्नै निवासमा बोलाएर सभापति देउवाले महाधिवेशनका आन्तरिक तयारीका साथै जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।
देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । त्यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन् ।
करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए । त्यसमा पनि करिब ३ सय वडाको समस्या समाधन गर्न गाह्रो रहेको लेखकको भनाइ थियो ।
देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै क्रियाशील सदस्यता चाडो टुंग्याउन निर्देशन दिएका छन् ।